भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरेको ज्यादतिको कांग्रेस एमालेले मूल्य चुकाउनुपर्ने बताएका छन् ।
मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा आतंकित पार्ने गरेको भन्दै त्यसको मूल्य कांग्रेस एमालेले चुकाउनुपर्ने बताएका हुन् ।
उनले कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको आफूले सुनेको र देखेको बताए । उनले भने, ‘नेपाली कांग्रेसले रविलाई प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । तर, त्यतिबेला अहिले म होइन प्रचण्ड नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने ।’
उनले लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताए । अध्यक्ष प्रचण्डले देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहेको बताए ।
उनले भने, ‘किन राख्नपर्यो हिरासतमा ? हाजिरी जमानीमा छोडिदिए भैगो नि । रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि त्यो रवि लामिछानेसँग यति धेरै तर्सिनुपर्ने?’
प्रचण्डले कांग्रेस एमाले रविसँग तर्सिएका बताए । यसबाट कांग्रेस र एमालेको आयु नलम्बिने स्पष्ट भएको बताए ।
उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा कुनै नयाँ समझदारी नगरेको दाबी गरे । आफैंले अघिल्लो पटक प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको दाबी गरे । उनले ओलीले यो पटकको भ्रमणमा सिन्को पनि नभाँचेको दाबी गरे ।