टोकियो । जापानमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो परम्परागत पर्व तमु ल्होसारलाई भव्य रूपमा मनाउन लागेको छ। गुरुङ समाज जापानले आयोजना गरेको यस कार्यक्रम जनवरी १ तारिख बेलुका ३ बजेदेखि १० बजेसम्म टोकियोमा हुनेछ।
गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङका अनुसार यस कार्यक्रममार्फत गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई जोगाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।
प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमुू अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मानव अस्तित्व नैं हराउँछ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै हामीले यो कार्यक्रम आयोजना गरेका हौँ, अध्यक्ष गुरुङले भन्नुभयो।
कार्यक्रम संयोजक चन्द्र गुरुङले यसपालीको प्रथम तमु ल्होसार सांस्कृतिक साँझ(२०२५ सफल बनाउन नेपालबाट राष्ट्रिय लोक दोहोरी गायक चिज गुरूङ तथा गायकरगायिका प्रकाश गुरूङ, कौशल गुरूङ, काजल गुरूङ, बाला दुरा लगायत कलाकारहरूको बेजोड् प्रस्तुति रहने बताउनुभयो। उहाँले टोकियो आसपासमा बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा उपस्थित हुन आह्वान गर्नुभएको छ।
गुरुङ समाज जापानका महासचिव मोती गुरुङले तमु ल्होसार गुरुङ समुदायको मात्र नभई समस्त नेपालीहरूको राष्ट्रिय पर्व भएको बताउनुभयो। उहाँले यस कार्यक्रममार्फत गुरुङ जातिको एकतालाई बलियो बनाउने र आफ्नो संस्कृतिलाई जीवन्त राख्ने प्रयास गरिएको बताउनुभयो।
गुरुङ जाति नेपालको एक प्रमुख आदिवासी जनजाति हो। यो जाति आफ्नो मौलिक संस्कृति, भाषा, लिपि, र परम्पराका लागि प्रख्यात छ। गुरुङहरू नेपालका विभिन्न जिल्लाहरूमा बसोबास गर्छन् र उनीहरूको आफ्नै विशिष्ट पहिचान छ।
गुरुङहरूले मनाउने तमु ल्होसार पर्व विश्वभर छरिएका गुरुङहरूको साझा पर्व हो। ल्होसार शब्दको अर्थ ुवर्ष फेरिनुु हो। यो पर्व हरेक वर्ष पौष १५ गते मनाइन्छ। ल्होसार मनाउनुको मुख्य उद्देश्य गुरुङ संस्कृतिलाई जोगाउनु र नयाँ पुस्तालाई यसको बारेमा जानकारी दिनु हो।
ल्होसारमा गुरुङहरूले आफ्नो परम्परागत भेषभूषा लगाउँछन् र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छन्। यस अवसरमा गुरुङहरूले आफ्ना आफन्त र साथीभाइसँग मिलेर रमाइलो गर्छन्। ल्होसारले गुरुङ समुदायमा एकता र सहयोगको भावनालाई प्रवर्द्धन गर्छ।
ल्होसार पर्वले गुरुङ जातिको सांस्कृतिक पहिचानलाई जोगाउन, विश्वभर छरिएका गुरुङहरूलाई एकताबद्ध गर्न र नयाँ पुस्तालाई गुरुङ संस्कृति सिकाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यस पर्वमा परम्परागत खाना बनाएर खाने चलनले गुरुङ जातिको मौलिक खाना संस्कृतिलाई पनि जोगाउन मद्दत पुगेको छ।