काठमाण्डौँ- सत्तारुढ दल नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रिय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।
शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो । एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताउनु भयो ।
नेकपा एमाले केन्द्रिय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गर्नुभयो । काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र साहले स्टन्टबाजी गर्नुभएको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गर्नुभयो ।
जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला । सामान्य प्रशासनिक कुरा पनि बुझ्नुहोला । यो बिल्कुल स्टन्टबाजी हो । कार्यक्रम सकिएपछि सफा गरिएको छ । त्यो चिठी अघिल्लो दिन नै प्रिन्ट गरेर राखिएको छ । कार्यक्रम नसकिँदै चिठी मिडयामा लगिएको छ । एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’
कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाई गरेको दाबी गर्नुभयो ।