लन्डन । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. बद्री केसीलाई बेलायतमा भव्य स्वागत गरिएको छ ।
एनआरएनएको ११औँ महाधिवेशनबाट डा. केसी नेतृत्वको निर्वाचित कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले काम गर्न रोक्ने पत्र सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिदिएपछि नेपाली डायस्पोरामा नयाँ प्रकारको उत्साह र भरोसाको सञ्चार पनि गरेको छ ।
आइतबार बेलायतको लन्डन आइपुगेका डा.केसीलाई हिथ्रो विमानस्थलमा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र विभिन्न संघसंस्थाका प्रतिनिधिले भव्य स्वागत गरेका थिए ।
सोमबार लन्डनकै केम्प्टन पार्कमा आयोजित नेपाली मेलामा विशिष्ट अतिथिका रुपमा डा. केसीलाई निम्त्याइएको थियो । उनलाई पार्कको प्रवेशद्वारदेखि नै बाजागाजा तथा सांस्कृतिक झाँकीहरुद्वारा स्वागत गरिएको थियो । ५० वटा संघसंस्था, ४२ वटा सांस्कृतिक टिमसहित करिब १० हजार नेपालीको उपस्थिति र सहभागिता रहेको उक्त मेलामा डा. केसीले विशेष सम्बोधन गरे । विजेता सांस्कृतिक टिमहरूलाई पुरस्कार वितरण गरे । तमु धीँ यूके प्रमुख आयोजक रहेको उक्त कार्यक्रमको सहआयोजक लन्डनस्थित नेपाली राजदूतावास पनि रहेको थियो ।
मंगलबार डा.केसीलाई अल्डरसट सहरमा अर्को भव्य स्वागत र सम्मान कार्यक्रम सम्पन्न भयो । त्यहाँ पनि डा केसीसहित उनको कार्यसमितिमा रहेका उपाध्यक्षहरु डा.हेमराज शर्मा, रामशरण सिम्खडा, रोजिना प्रधान राई, सचिव टीका गुरूङ, प्रबक्ता फणिन्द्र पन्त, युरोप सह संयोजक द्वोय रोबर्ट लिम्बु तथा महेश अधिकारी , युरोप महिला संयोजक प्रसुन्ना अधिकारी, केन्द्रिय सल्लाहकारहरु सुर्य गुरुङ तथा हिराधन राइ सहित केन्द्रिय सदस्यहरु लगायतको स्वागतका लागि बाजागाजा र सांस्कृतिक झाँकीहरूको व्यवस्था गरिएको थियो । बाजागाजाले स्वागत गरी कार्यक्रमस्थल पुर्याइएको थियो । एनआरएनए राष्ट्रिय समन्वय परिषद् युकेको आयोजनामा सम्पन्न कार्यक्रममा संघको यस कार्यसमितिले निर्धक्क भएर काम गर्नुपर्ने वक्ताहरुले बताएका थिए ।
असहमत पक्षहरु पनि निर्वाचित कार्यसमितिलाई विश्वास गरी सहयोग गर्नुपर्ने उनीहरुको धारणा थियो । उनीहरुले लोकतान्त्रिक विधिबाट निर्वाचित भएको कार्यसमितिलाई तत्कालीन सरकारका केही अधिकारीहरुले राज्यक्तिको दुरुपयोग गरी काम गर्नबाट रोक्न खोजे पनि अदालतले लोकतन्त्र र आम गैरआवासीय नेपालीको मनोभावनाअनुसार फैसला गरिदिएकोमा खुसी पनि व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा अध्यक्ष केसीलगायत सबै आईसीसी पदाधिकारीहरुले सबैलाई समेटेर लैजाने विचार व्यक्त गरेका थिए । गैरआवासीय नेपालीबीच एकता र भ्रातृत्वको सन्देश दिन एनआरएन अभियानका आरम्भकर्ताहरु पनि जिम्मेवार ढंगले प्रस्तुत भई एक ठाउँमा उभिइदिन अध्यक्ष केसीले आग्रह गरेका थिए ।
उनले पूर्ण अधिकारसहितको नागरिकता, भूतपूर्व गोर्खा सैनिकका माग र समृद्ध नेपालको अभियानमा आफू जहाँ भए पनि लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसबीचमा गैरआवासीय नेपाली नागरिकता र लगानीसम्बन्धी नियमहरु परिमार्जनका विषयमा सरकारसँग गम्भीरतापूर्वक छलफल र गृहकार्य गरेको जानकारी दिँदै आउँदा तीन साताभित्र केही न केही नतिजा आउने विश्वास पनि कार्यक्रममा व्यक्त गरे ।
एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले निर्वाचनको परिणाम स्वीकार गर्न नसक्ने अस्वस्थ प्रकारको परिपाटीले यस संस्थाको उद्देश्य प्राप्ति नहुने भन्दै लोकतान्त्रिक संस्कार अंगीकार गर्न सबैलाई आग्रह गरे ।
अध्यक्ष केसीसहितको टोलिले मंगलबार मिडल्यान्ड (लेस्टर) पुगेर गैरआवासीय नेपालीहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि गरेको छ । त्यसपछि उनी यस्तै कार्यक्रमका लागि स्कटल्यान्ड जाने कार्यक्रम छ ।
बेलायत गैरआवासीय नेपाली संघको जन्म भएको र भूतपूर्व गोर्खाहरुका कारण सबैभन्दा जेठो डायस्पोरा रहेको मुलुक मानिन्छ । त्यसकारण पनि अध्यक्ष केसी र उनको कार्यसमितिले बेलायतमा पाएको सम्मान र महत्त्व विशेष अर्थपूर्ण छ ।
डा. केसी साताव्यापी बेलायतको भ्रमण सकेर आगामी सेप्टेम्बर २ तारिख रुसको मस्को फर्किने कार्यक्रम रहेको प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिए ।