शुक्रबार, बैशाख ०५, २०८२

गुरु बराल एमाले उपाध्यक्षमा मनोनित,सातै प्रदेशमा तोकिए इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले इन्चार्ज तोकेको हो । बैठकले कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराई, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको हो ।

यसअघि कोसीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । त्यस्तै बैठकले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो । योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यस्तै, स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

१७ जना केन्द्रीय सदस्यमा मनोनीत

महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए । उनकाअनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन् ।

यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन् ।