सोमबार, असार ०९, २०८२

भ्रष्टाचारमा संलग्न सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई सांसद शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारमा संलग्न सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् । उनले संसदलाई कुनै व्ल्याकलेकमेलिङ गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु । बडा गज्जबको जात्रा चलिरहेको छ । फाइलका फाइल, घोटालाका घोटाला । यस्तो कुरासम्म हुन आएको छ की संसद होइन कुनै व्ल्याकलेकमेलिङ गर्ने थलो हो । उ परपट्टि बसिसकेपछि यतापट्टिकोले दोष लगाउने, परपट्टिका वारी आएपछि यहाँकाले पारिकालाई दोष लगाउने, म अहिले पनि भन्न चाहन्छु तपाईं अहिलेको सरकारमा हुनुहुन्छ, तपाईंहरुको दिन नआओस् भुटानी शरणार्थी भनेर कराउने । फेरि दिन नआओस् तपाईंहरूको यहाँ गिरीबन्धु खै भनेर कराउनुपर्ने ।’

उनले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरू सँगसँगै कराउने दिन आउन सक्ने बताए । उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे ।