बुधबार, साउन ०९, २०८१

अस्थिरतामा रमाउने प्रवृत्तिकाविरुद्ध कांग्रेस एमाले एक ठाउँमा आउने परिस्थिति बन्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रधानमन्त्री प्रचण्ड लागिपरेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए ।

उनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससँग सहमति भएको तर आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको बताए ।

उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागिता गराउने बताए ।

ओलीले अब बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रित गर्ने दावी गरे । अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस एमाले एक ठाउँमा आउनु परेको उनले स्पष्ट पारे ।