काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीले सेवा सुविधा नपाउनु सदनकै लज्जाको विषय भएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले संसद सचिवालयका कर्मचारका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद पन्तले सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधाको विषयमा सदनको ध्यानाकर्षण गराउँदै उचित सेवा सुविधाको प्रबन्ध गर्न माग गरे । कोरोनाकाल सुरू भएदेखि नै संसदका कर्मचारीले अतिरिक्त समयमा काम गरेको भत्ता नपाएको उनले बताए ।
उनले भने, ‘संसदमा प्रवेश गर्ने ठाउँमा कर्मचारीले बाटो छेकेर धर्ना गरिरहेको देखियो । जे सुविधा अरू मन्त्रालयका कर्मचारीले पाएका छन् त्यो सुविधा संसदका कर्मचारीले नपाउने भन्ने कुरा हुँदैन। उहाँहरूले हिजोको भत्ता माग्नुभएको छैन। कमसेकम अब अतिरिक्त समयमा काम गरेको भत्ता त पाउनुपर्यो भन्नु भएको छ । अर्थमन्त्रालय लगायत अन्यत्रका कर्मचारीले पाउने, संसदका कर्मचारीले किन नपाउने ? संसदभित्र यो दृश्य देखिनु आफैमा दुःखद हो ।’
उनले सांसदहरुलाई उपलब्ध गराउने पत्रपत्रिकाको सुविधा समेत कटौती भएको एवम् कर्मचारीको सेवा सुविधाका विषयमा तत्काल उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।
नियमले पाउने सेवा सुविधा भत्तालगायतका सुविधा उपलब्ध गराउन अर्थमन्त्री र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउँदै आवश्यक पत्रपत्रिकाको बजेटसमेत कटौती नगर्न माग गरे ।
उनले भने, ‘सांसदहरूलाई पढ्न दिने पत्रिका पनि कटौती भएको छ। हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ।’