काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरेको बताएका छन् । शनिबार पार्टीको काठमाडौं जिल्लाको सातौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही नेताले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद विघटन गरेको बताएका हुन् ।
उनले संसद विघटन भएकै कारण अहिले एमाले अस्तित्वमा रहेको बताए । उनले भने, ‘त्यतिबेला संसद विघटन नगरेको भए आज हामीले नेकपा एमाले भन्न पाउन्नथ्यौं । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरुको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाइसक्या हुन्थ्यो । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाईको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?’
उनले आफू नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे ।
उनले देशी विदेशी शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरे पनि एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई बचाएको बताए । अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दाबी गरे ।
अध्यक्ष ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दाबी गरे। उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए।