जनकपुरधाम । जनमत पार्टीका सांसद सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शुक्रबार बिहान ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
सिंहले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी छ । उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नेपा संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । बिहीबार गठबन्धनका दलहरूले मन्त्रालय भागवण्डामा सहमति गरेपछि आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
हाल मधेशमा १०७ सदस्यीय प्रदेशसभा रहेकोमा सिंहले एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीका १/१ सांसदको समर्थन पाएका छन् ।
दलहरूबीच भएको सहमतिअनुसार संसदीय दलको सबैभन्दा ठूलो दल एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ४ वटा मन्त्रालय पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ ।
माओवादी केन्द्रले अर्थ मन्त्रालय र उद्योग,वाणिज्य मन्त्रालय पाएको छ । त्यसैगरी, एकीकृत समाजवादीले भूमि व्यवस्था तथा कृषि र गृह सञ्चार तथा कानुन मन्त्रालय पाएको छ । त्यसैगरी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीले पनि पनि एक÷एक वटा मन्त्रालय पाउनेछ ।