बुधबार, माघ ३०, २०८१

छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने, यो कुनै सभ्यता हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको व्यवहार असभ्य देखिएको बताएका छन् ।

शनिबार राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । सडक निर्माणका विषयमा संघ सरकारसँग विवाद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो लगेर खन्याएको थियो ।

उक्त घटनापछि मेयर साहसँग एमाले आक्रोसित भएको छ । सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निक्र्योल गरेर निर्धक्क भन्न नसकिरहेको बताए ।

उनले भने, ‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? गलत गरयौं भनेर कसैले भन्न सक्दैन । के हालत होला ? यो गलत हो । यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन हुँदैन । असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ?’

उनले युवा संघका नेता कार्यकर्तालाई नेतृत्व र पदका छनोटको लागि अप्ठेरो परेमा आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन आग्रह गरे ।