मङ्गलबार, चैत ११, २०८१

सरकारले आफूहरुसँग परामर्श नगरी बजेट ल्याएको भन्दै एमाले असन्तुष्ट

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सत्तारुढ दलहरुसँग परामर्श नगरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

शनिबार पार्टीको संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पार्टीका सांसदहरुलाई बजेटमा देखिएका कमीकमजोरीबारे खुलेर छलफल गर्नसमेत निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बजेट माओवादी पार्टीप्रति ढल्किएको बताए ।

उनले भने,’बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ । बजेट बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । बजेट निर्माण प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको देखियो । दलहरुबीच छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढता देखिन गएको छ ।’

उनले बजेटमा कमीकमजोरी भएपनि पारित गरेर जानुपर्ने बताए । समाजवाद निर्माणका आधारहरु तयार गर्ने गरी बजेट आउनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले बताए ।