उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय मानवअधिकारविरुद्ध रहेको भन्दै रिट दायर भएको हो ।
उनीविरुद्ध चक्रवती ल क्याम्पसका विद्यार्थीहरु कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्ज्वल माली र इमामुल हकले रिट दायर गरेका हुन् । उनीहरूले गृहमन्त्रीको मौखिक आदेशका भरमा लागू गरिएको सो नियम खारेज गर्न माग गरेका छन् ।
उनीहरूले कानुनभन्दा माथि व्यक्ति नहुने र ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवक खटाउने कानुन नभएको जिकिर गरेका छन् । गृहमन्त्री लामिछानेले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा विशेष घोषणा भन्दै सामाजिक सञ्जालमार्फत ट्राफिक कारबाहीमा परेकाहरूले स्वयंसेवक बनाउने घोषणा गरेका थिए ।
उनको यो घोषणापछि काठमाडौं उपत्यकामा यसरी ट्राफिक कारबाहीमा परेकाहरूलाई स्वयंसेवक बनाइरहेको छ । लामिछानेको यो निर्णयको आलोचनासमेत भइरहेको छ । रिटमाथि २० जेठका लागि पेसीसमेत तोकिएको छ । यसअघि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो रिट सर्वोच्चमा विचाराधीन छ ।