बिहिबार, फागुन ०१, २०८१

सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो । अदालतका आदेशपछि प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले २५ चैतमै दाबी पेश गरे र त्यसै दिन प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसविरुद्ध पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सभामुखको निर्णय बदर गर्दै मुख्यमन्त्री अधिकारी पदमुक्त भएको फैसला सनाएको थियो ।