आइतबार, माघ १३, २०८१

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका आधारमा तथ्यपरक र यथार्थपरक विश्लेषणसहित आउनुपर्नेमा जानकारहरूले जोड दिएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यदिशा’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले त्यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था र स्रोतसाधनको सापेक्षतामा आधारित भएर बजेट ल्याइनुपर्ने बताए ।

“हाम्रो राजस्व, वैदेशिक सहायता, आन्तरिक ऋणलगायत स्रोतको अवस्था हेर्दा ठूलो आकारको बजेट बनाउन सक्दैनौँ । माग बढेको छ, त्यसकारण बजेटको आकार बढाई दिउँ भन्ने छुट हामीलाई छैन । ठूलो आकारको बजेट ल्याएर सुरूकै दिनमा बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था नआओस्”, पौडेलले भने ।

सोहौँ आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम, सत्तारूढ दलको न्यूनतम साझा सङ्कल्पलगायत विषयमा आधारित भएर बजेट ल्याइनुपर्नेमा उनको जोड भयो ।

अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी बजेट ल्याइनुपर्ने आवश्यकता पनि पौडेलले औँल्याए । “अहिले विदेशी मुद्राको सञ्चिति राम्रो छ तर त्यसको प्रयोग भएको छैन । ‘रेमिट्यान्स’ आइरहेको छ तर त्यसको सदुपयोग हुन सकेको छैन । बैङ्कमा तरलता राम्रो छ तर उत्पादन र रोजगारीका क्षेत्रमा लगानी भएको छैन । खराब कर्जाको स्थिति बढेको छ । उद्योगधन्दा एक तिहाइ क्षमतामा चलेका छन् । यी समस्या समाधान गर्नेगरी बजेट आउनुपर्छ,” पौडेलले भने ।

उनले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने मुख्य चुनौतीलाई चिर्ने गरी बजेट आउनुपर्ने बताए ।