काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा उपस्थित १५८ सांसदमध्ये १५७ सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए भने एक सांसद तटस्थ बसे । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए। संसदको कामकारवाही अघि बढाउन सभामुख घिमिरेले विपक्षी दलहरूलाई आग्रह गरेका थिए। तर,उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख घिमिरेले विपक्षी दललाई पेलेरै सदन अघि बढाएका थिए ।
संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद अवरोध गरेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गरेका थिए ।
कांग्रेससहित विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन्।