शुक्रबार, फागुन ०२, २०८१

अरुलाई मिथ्या आरोप लगाएर आफू उम्किने प्रयास नगर्न गृहमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री अरुलाई आरोप लगाएर आफू उम्किन खोजेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीले अरुलाई असत्य, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेको निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपको निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन् । उनले भने, ‘गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो । अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ। उहाँको अभिव्यक्तिको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ ।’

उनले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने लागेको प्रस्ट देखिएकाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताए ।