बुधबार, माघ ३०, २०८१

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन् ।

उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु ।’

उनले आफू मिडियामा आएका हेडलाइनबाट नडराउने बताए । उनले भने, ‘मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला, रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन ।’

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । उनले भने, ‘हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन ।’उनले आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न अफर गरेको भन्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरे ।