आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसनको पनि आजै उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन , युरोपेली सङ्घ (इयु) का राजदूत भेरोनिक लोरेञ्जो , जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक (इआइबी) का निर्देशक थौउराया ट्रिकीले आज संयुक्तरुपमा त्रिशूली ‘थ्री बी हब र भाल्चे सबस्टेसन’ उद्घाटन गरे ।
करिब एक सय चार रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत एक अर्ब ९७ करोड रहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत रु ४२ करोड ९३ लाख रहेको छ ।
नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन तथा सबस्टेसनबाट प्रभावित र त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
उद्घाटन समारोहमा मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि मात्र नभएर समग्र देशको विद्युत् प्रणाली व्यवस्थापन गर्न सबस्टेसन निर्माणबाट महत्वपूर्ण पाइला थपिएको बताए ।
आगामी १२ वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई लगानी मैत्री बनाउन नीतिगत, कानुनी र संरचना सुधार सुरु गरिसकिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्राकृतिक स्रोतमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई हिस्सेदार बनाउने गरी आयोजना अगाडि बढाइएको बताए ।
मन्त्री बस्नेतले जलविद्युत् क्षेत्रमा सरकार, स्थानीय समुदाय, वैदेशिक र निजी क्षेत्रको लगानीलाई समन्वयात्मकरुपमा अगाडि बढाइने उल्लेख गरे । युरोपेली आयोगकी उपमहानिर्देशक फेरनले जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न नवीकरणीय हरित ऊर्जाको उत्पादन वृद्धिका लागि सबस्टेसन महत्वपूर्ण रहेको बताए । उनले सबस्टेसन निर्माणबाट नेपालको ठूलो समुदाय लाभान्वित हुने भएकाले युरेपेली युनियनका लागि गौरवको विषय भएको उल्लेख गरे ।
जर्मन राजदूत थोमस प्रिन्जले उत्पादित स्वच्छ हरित ऊर्जा उपभोक्ताको घरसम्म पुर्याउन सात करोड युरो अनुदान दिन लागिएको जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको हरित ऊर्जाको दिगो विकासका लागि यस क्षेत्रको पूर्वाधारमा लगानी गर्न युरोपली युनियन र यसका सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।
उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधारमा करिब ४६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएकाले लगानीका लागि आग्रह गरे ।
आयोजनाका निर्देशक थर्कबहादुर थापाले सबस्टेसनबाट नेपालको समग्र विद्युत् प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले चिलिमे हब–त्रिशूली थ्री बी हब प्रसारण लाइन एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तीव्ररुपमा काम भइरहेको उल्लेख गरे ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणालीआयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हव २२० केभी सबस्टेसनदेखि त्रिशूली थ्री बी हबसम्मको २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन र चिलिमे हब २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छन् ।
अनुमानित लागत ६ अर्ब १९ करोड रहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) तथा इयुको अनुदान सहयोग रहेको छ । इयुले स्थापना गरेको इआइबीले आयोजनामा सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।