मङ्गलबार, साउन ०१, २०८१

भारतीय मसला ‘एमडीएच’ र ‘एभरेस्ट’ को नेपालमा आयात र बिक्री बितरणमा प्रतिवन्ध

काठमाडौं । सरकारले भारतको प्रसिद्ध दुई ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच र एभरेष्ट ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको हो ।

तर विभागले ति दुवै ब्राण्डको केहि विशिष्ट मसलामा प्रतिवन्ध लगाएपनि बिहिबार साँझसम्म यो बिषयमा कुनै आधिकारिक सूचना भने जारी गरेको छैन ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार भारतको एमडीएच ब्राण्डको ३ र एभरेष्ट ब्राण्डको १ गरी ४ प्रकारको मसलाको आयात अनुमति तत्कालको लागि स्थगित गरिएको छ । विभागले एमडीएच ब्राण्डको मद्रास करि पाउडर(स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला पाउडर र एभरेष्ट ब्राण्डको फिस करी मसलाको आयातमा प्रतिवन्ध लगाएको हो ।

यस्ता मसलको आयातमा प्रतिवन्धका साथै बिक्री बितरण र उपभोग गर्न पनि विभागले प्रतिवन्ध लगाएको हो । विभागले बजारमा यो मसला उपलब्ध भएको भए आयातकर्तालाई बजारबाट फिर्ता लैजान पनि निर्देशन दिएको छ । साथै राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई उक्त मसलामा पाइएको भनिएको इथाइलिन अक्साइड रेसिड्युको परीक्षण पनि उच्च प्राथमिकतामा राख्न पनि आफ्ना कार्यालयहरुलाई निर्देशन दिएको छ ।