मङ्गलबार, साउन ०१, २०८१

एमाले रामेछापको अध्यक्षमा कडरिया र र सचिवमा कार्की सर्वसम्मत

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिवमा क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की सर्वसम्मत भएका छन् ।
एमाले रामेछापको नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि जिल्ला कमिटीको सचिव रहेका कडरिया अध्यक्ष बन्न सफल भएका छन् ।

अधिवेशनबाट सचिवमा यसअघि सह–सचिव रहेका प्रकाश कुमार कार्की सचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा होतराज ढकाल, सह–सचिवद्धय मिलन घिसिङ र मखमली श्रेष्ठ निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि कडरियासँग प्रेमबहादुर तामाङले मनोनयन दर्ता गराएका थिए । तर उनले सहमतिका लागि मनोनयन फिर्ता लिएका छन्। त्यस्तै सचिवमा प्रकाशकुमार कार्कीसँगै रामबाबु घिमिरेले मनोनयन दर्ता गराएका थिए । उनले पनि सहमतिको लागि मनोनयन फिर्ता र्लिएपछि कार्की सर्वसम्मत भएका हुन् ।

लेखा कमिटीको अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसम्मत भएका छन् । जसको उपाध्यक्षमा तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की सर्वसम्मत भएका छन् । लेखा कमिटीका सदस्य सबै सर्वसम्मत भए ।