काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा बुधबार नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्दै उनले साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रको मूल जग नै साना घरेलु उद्योग भएको प्रस्ट पारे । “गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि तथा आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगको योगदान छ,” उनले भने, “घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चापदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायत समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरी अघि बढ्नुपर्छ ।”
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवमा राष्ट्रिपति पौडेलले घरेलु उद्योगले स्थानीय श्रम, सीप, प्रविधि, कच्चापदार्थ, जनशक्तिको प्रयोग गरी थोरै लगानीमा उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउनसक्ने बताए।