बिहिबार, फागुन ०१, २०८१

उपेन्द्र नेतृत्वको जसपा विभाजन, राईको नेतृत्वमा ३१ सदस्य कार्यसमिति गठन

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा, नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।
नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।

राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन
राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।
प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा. वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।