शुक्रबार, फागुन ०२, २०८१

इलाम–२ उपनिर्वाचनको मतगणना जारी: एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै

विराटनगर । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । सोमबार बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् ।

यस्तै पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ४ हजार ५८ मतका साथ तेस्रो स्थानमा छन् भने निकै चर्चामा रहेका रास्वपाका मिलन लिम्बूले १ हजार १ सय ६५ मत मात्र पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सोमबार साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी गणना भइरहेको बताए ।
कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्‍याएर उठेका थिए ।