मङ्गलबार, साउन ०१, २०८१

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

ललितपुर । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकता पत्रमा हस्ताक्षर भएको हो।

दुवै पार्टीबीच भएको एकताको आधार पत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ।

नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्त्वपूर्ण क्षेत्रमा आधारभूत बुझाइ एवम् दृष्टिकोणमा एकरूपता विद्यमान रहेको निचोडमा पुगेको एकता आधार पत्रमा उल्लेख छ।
विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा पार्टी एकता पश्चात् प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने बताइएको छ।

अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, सङ्गठन र शक्तिबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुर्‍याउन सङ्कल्पित रहने पनि सहमति पत्रमार्फत जानकारी दिइएको छ।