आइतबार, जेठ ०६, २०८१

आगामी साेमबार`बौद्ध तेमाल जात्रा´मनाईंदै,तामाङ कल्याण गुठिको संयोजकत्वमा व्यवस्थापन समिति गठन

मायालु तामाङ, काठमाडौं । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुपमा लाग्ने तामाङ समुदायको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक महत्व बोकेको बौद्ध तेमाल जात्रा यस वर्ष आगामी साेमबार मनाइदैछ ।

बौद्ध तेमाल जात्रा चैत पूर्णिमाकाे अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ। बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ।

श्री बौद्ध तामाङ कल्याण गुठिको संयोजकत्व एवं श्री बौद्धनाथ क्षेत्र विकास समिति आयोजक रहने गरि विभिन्न संघसंस्था, क्लब, र स्थानीय समाजसेवी बुद्धिजीवीको सहभागितामा ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा व्यवस्थापन समिति ´ गठन गरिएको छ । यस जात्राको सांस्कृतिक गरिमालाई संरक्षणमा लाग्न टेवा पुग्ने उदेश्यले  का.म.न.पा वडा – ६ को सहयोग र समन्वय गर्ने भएको छ ।

जात्रामा विशेषगरी तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा/मोन्लम) गर्छन्। जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ। अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाललगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायका मानिस आउँछन्।

जात्रामा विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क जुस, पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् । त्यस्तै, बौद्ध परिसरमा तामाङ फापरे व्हाई, डम्फु व्हाई आदिमा नाचगान गरी रमाउनेहरु उत्तिकै मात्रामा हुन्छन् । सन् १९७९ मा युनेस्कोले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको बौद्धनाथलाई विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो।

बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ। यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ।

१८९१ असोज २ मा तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ। अर्को भनाइअनुसार बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमाल राजा बलले तेमाल जात्रा चलाएका हुन्।

यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ। चिन्तामणिका प्रतीक मानिने  अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो। बौद्धमार्गीले यस स्तूपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन्।