संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आजराति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।
आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराएका हुन् ।
उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु’ । यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराएका थिए ।
उनले भने,‘ संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्य २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’
काठमाडौँ । सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताएका छन् ।
प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आइतबार आयोजित बैठकमा सभामुखले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताएका हुन् ।
सभामुख घिमिरेले भने, “अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्य भने हुन सकेन । राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु ।”
उनले अधिवेशन अवधिभर सक्रियतापूर्वक सहभागी हुने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै संसदीय कार्यमा सहयोग गर्ने सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षालगायतका सबै संयन्त्रलाई धन्यवाद दिए ।
“संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन्”, उनले भने, “नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वाभाविक रूपमा देखिन्छन् । संसद्मा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउँछ ।”
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुनसक्ने सभामुखको भनाइ थियो । संसद जति क्रियाशील र प्रबुद्ध भयो त्यसले त्यति नै विधि निर्माणमा गुणात्मक प्रभाव पार्ने बताए ।
बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराए । चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो ।
यस अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ । यस अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन् ।