ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिएका हुन् ।
बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताए ।
आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए ।
करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुगेका थिए । हेलिकप्टरमार्फत त्यहाँ पुगको ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गरेका थिए ।
यस्तै उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्रयाक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गरेका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती र पार्टी सचिव योगेशकुमार भट्टराई समेत ताप्लेजुङमा आएका थिए ।