काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल सक्रिय भएर लागेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ ।
श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यता अन्त्य गर्दै श्रममन्त्री अर्याल सक्रिय भएर लागेपछि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो ।
वैदेशिक विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलमा दैनिक एक हजार देखि एक हजार ५ सय जनाले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिने गरेका छन् । अत्यधिक चापका कारण उनीहरूले श्रम स्वीकृति पाउन एक सातासम्म कुर्नुपर्ने बाध्यता थियो । अब भने सम्पूर्ण प्रक्रिया पुरा भएको एक घण्टाभित्र श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख दीपकराज नेपालले बताए ।
यसअघिसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनका लागि थुप्रै खालका सास्ती खेप्नु परेको थियो । समयमै श्रम स्वीकृतिको काम नहुँदा श्रमिकहरूको सम्बन्धित देशका फ्लाइट छुट्ने समस्या देखिएको थियो ।
श्रमिकहरूले फ्लाइट टिकट काटेर श्रम स्वीकृतिका लागि अनलाइन मार्फत निवेदन दिने तर, श्रम स्वीकृति समयमै नहुँदा निकै सास्ती खेप्नुपरेको थियो । कतिपय समयमा अनलाइन सिस्टममा नै समस्या आएर श्रमिकहरूले श्रम स्वीकृति नै नपाउने समस्या थियो ।
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस मार्फत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ । तर, उक्त सिस्टममा आउने पटक पटकको समस्याका कारण श्रमिकहरूले सास्ती खेप्दै आएका थिए । उक्त समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल सक्रिय भएर लागेका थिए । उनले कर्मचारीहरूलाई एक घण्टाभित्रमा श्रम स्वीकृति प्रदान गर्नेगरी काम गर्न निर्देशन दिएका थिए । सोही आधारमा कर्मचारीले एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था मिलाएका हुन् ।
अहिले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात अनलाइनमा मार्फत सबमिट गरेको एक घण्टाभित्रमा नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ । श्रममन्त्री अर्यालले उक्त निर्देशन दिँदा तथा कर्मचारीहरूले त्यसका लागि कमिटमेन्ट गरिररहँदा धेरैले ‘त्यो सम्भव छैन’ भनेका थिए । तर, उक्त कार्यलाई सम्भव बनाउन श्रममन्त्री अर्याल आफैँ खटिएका थिए । त्यसका लागि उनले सम्बन्धित कर्मचारीहरू, आईटी टिम लगायतसँग लगातार छलफल गरेका थिए ।
यसका लागि कर्मचारीको व्यवस्थापन तथा कार्यविधिमा समेत समस्या देखिएको थियो । कर्मचारीको व्यवस्थापनको हकमा विद्यमान रहेका कर्मचारीहरूलाई तीन सिफ्टमा काम गर्ने जिम्मेवारी तोकिएको कार्यालय प्रमुख नेपालले बताए ।
त्यस्तै ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ पनि संशोधन गरिएको हो । संशोधन गरेसँगै एउटै व्यक्तिले रूजु गर्ने र श्रम स्वीकृतिको निर्णय गर्ने व्यवस्था गरिएको हो ।
यसअघि दुई तहमा मात्रै श्रम श्रम स्वीकृतिको कार्य हुँदै आएको थियो । अबदेखि रूजु गर्नेलाई नै एप्रभुलको अनुमति दिने व्यवस्था समेत गरिएको कार्यालय प्रमुख नेपालले बताए ।
‘हामीले केही बेसिकल्ली चेन्ज गर्यो । १० जना अफिसर छन् । ती मध्ये ७ जनाले व्यक्तिगत श्रम स्वीकृति र ३ जना संस्थागत श्रम स्वीकृतिमा थिए । अहिले पुनः श्रम स्वीकृतिको हकमा भेरिभाई गर्नेलाई नै एप्रभुलको अनुमति दिइएको छ’ प्रमुख नेपालले भने ।
श्रम स्वीकृति प्रदान गर्ने क्रममा भिसा, कन्ट्«याक्ट पेपर, पासपोर्ट आदी हेरेर एप्रभुल गर्ने गरिएको उनको भनाइ छ । अहिले कार्यालयमै रहेका कर्मचारीहरूलाई व्यवस्थापन गरेर श्रम स्वीकृतिको काम अघि बढेको बताए ।
‘पहिला दुई लेयरमा काम हुने गरेको थियो । पहिला सुब्बाले भेरिफाई गर्ने, अफिसरले एप्रुभ गर्ने थियो । जसले गर्दा अलिकति बढी समय लाग्ने गरेको थियो,’ कार्यालय प्रमुख नेपालले भने, ‘सिंगल लेयरमा काम गर्नुपर्छ भनेपछि मन्त्रीज्यूलाई पनि त्यही आधारमा कुरा गरेपछि कार्यविधि संशोधन गरियो ।’
कार्यविधि संशोधन गर्नुका साथै अनलाइन प्रणालीमा समेत केही सुधार गरिएको उनको भनाइ छ । ‘कम्प्युटरको (याम बढाउने, डेलिकेडेड टिमलाई पनि २४ घण्टा नै अलर्टमा राखेर काम गर्ने जस्ता विषयमा पनि व्यवस्थापन गरिएको छ’ नेपालले भने ।
हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्म गरी तीन सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन थालेको हो ।