काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित कपनमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले ५६ जना महिलाहरूलाई आत्मरक्षा तालिम तथा परामर्श तालिम प्रदान गरिएको छ ।
मुलुकका विभिन्न क्षेत्रमा महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गईरहेकाले नागरिक आवाजकाे आयोजना तथा टेवा परोपकारी संस्थाको सहयोगमा हिंसा न्युनिकरण गर्ने उदेश्यले एक दिने आत्मारक्षा तथा परामर्श तालिम दिइएको हो । तालिम वडा नम्बर १२ स्थित वडा अध्यक्षको कार्यालय भवनमा गरिएको थियो।
महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यस्ता खाले तालिमले धेरै कुरा सिकाएको नगर प्रमुख मिठाराम अधिकारीले बताए । उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ ।´
नगर प्रमुख अधिकारीले नागरिक आवाजले गर्दै आएको कामहरूको प्रशंसा गर्दै आगामी दिनमा नगरका महिला तथा किशोरीहरूका लागि गरिने यस्ता कार्यक्रमहरूका लागि समन्वयका साथै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, बाह्र नम्बर वडाका अध्यक्ष शम्भु कुमार भट्टराईले महिला तथा किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि वडाले पनि वडाभित्र आत्मरक्षा तालिमका साथै विभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्दै आएकाे बताए । महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा महिला तथा किशोरीहरूलाई आवश्यक तालिमहरू नागरिक आवाजले दिदै आएकाेमा खुशी व्यक्त गर्दै आगामी दिनमा हातेमालाे गरि बजेट निर्माण गर्ने बेलामा नै के कसरी कस्तो खालकाे कार्यक्रमहरू गर्ने ढाचा तयार गरि जाने उल्लेख गरे ।
यसैगरी, वडा नम्बर दशका वडाध्यक्ष नवराज भट्टराईले भौतिक निर्माण मात्र विकास होइन भन्दै जीवनोपयोगी दक्षता विकास कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । यसरी एक सामाजिक संस्थाले आत्मरक्षा तालिम सिकाएको देख्दा खुसी लागेको र यसलाई निरन्तर रूपमा सञ्चालन गर्नको लागि वडाकाे तर्फबाट आफुले सकेकाे सहयोग गर्ने उनले बताए ।
महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा महिला तथा किशोरीहरूलाई प्रशिक्षक सुरज सुनुवारले प्रशिक्षण दिएका थिए ।
महिला तथा किशोरीहरूले कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको संस्थाकी अध्यक्ष रिता राना मगरले बताईन्। आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनी बताउँछिन्।
कार्यक्रममा प्रहरी इन्चार्ज नवराज सापकोटा, सेवा फिल्मस्का प्रोप्राइटर बाबु जिम्बा, सुनौलो सुन्दरीमै कृषि महिला समाजकी अध्यक्ष अस्मिता खत्री, कानुनी सल्लाहकार बसन्त नलामी, संस्थाका सल्लाहकार, पदाधिकारी, समाजसेवी लगायत महिला दिदिबहिनीहरूकाे उपस्थिति रहेकाे थियाे ।