सोमबार, चैत ०३, २०८१

मानवसेवा आश्रम मुख्य कार्यालयको नवनिर्मित भवन मंसिर ३० मा प्रधानमन्त्रीले समुद्घाटन गर्ने

काठमाडौं । नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’का ठाउँ ठाउँमा भवन निर्माण भइरहेका छन् । ती भवन ‘मानवताका मन्दिर’ हुन् भन्दा फरक नपर्ला । यस्तैमा, मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन आगामी मंसिर ३० गते समुद्घाटन हुने भएको छ । हेटौंडाको लामसुरेधापमामा बनेको आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन आगामी मंसिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गर्ने भएका छन् ।

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाश शरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका माननीय मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, वरिष्ठ कलाकार, समाजसेवी र भद्रभलाद्मीहरु, र आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगीहरुको गरिमामय समुपस्थितिका बीच मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौंडाको समुद्घाटन हुन लागेको हो।

मानवियताको मन्दिरको रुपमा निर्माण भएको उक्त भवनमा करिब २ सय भन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापन गर्न सकिनेछ ।
मानवसेवा आश्रम एक मानवीयताको मन्दिर हो । जहाँ परिवार वा आफन्तबाट अपहेलित भई सडकमा लगेर फ्याँकिएका वा मनोरोग लगायत विभिन्न कारणले आफैँ पनि सडकमा आइपुगेर नारकीय जीवन गुजार्न विवस मानिसहरुले खाना, नाना र छाना पाइरहेका छन् ।

आश्रमका अभियन्ता र अभिभावकहरुको अथक मेहनतका कारण उक्त मानवियताको मन्दिर ठडीएको हो । उक्त मानवीयताको मन्दिर निर्माणलाई सम्पन्न गर्न हजारौं मनकारी व्यक्तिहरुको हृदयदेखी सहयोग भएको छ । यसका लागि आश्रमले श्रीमद्भागवत ज्ञान विज्ञान अनुष्ठान, मह जात्रा, रविन्द्र मिश्रका कविता वाचन लगायत अनेकौं कार्यक्रमहरु आयोजना गरेको थियो । मानवियताको मन्दिरमा महिला, पुरुष, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई छुट्टाछुट्टै राखेर सेवा गर्न सकिने गरी संरचना निर्माण भएको छ ।

भौतिक संरचनाको साथै आश्रमको दुरदर्शी योजना अनुसार स्वावलम्बनको सिद्धान्तलाई आत्मसाथ गर्दै लक्ष्मी नारायणलाई दुध खुवाउन गाईपालन पनि गरिएको छ । आश्रित व्यक्तिहरुले बारीमा श्रमदान पनि गर्दै आएका छन् । अर्गानीक तरकारीका लागि करेसाबारी छ । करेसाबारीमा फलफुलका विरुवा समेत रोपिएका छन् भने कयौं विरुवामा त फल फल्न समेत थालिसकेका छन् । आश्रमबाट उत्सर्जन हुने फोहोरलाई व्यवस्थापन गरी आश्रमले एकातर्फ गड्यौंला मल र प्रारङ्गीक मल उत्पादन गरीरहेको छ भने अर्कोतर्फ शौचको सदुपयोग गरी गोवर ग्यास निर्माण बनाई फोहोरलाई ईन्धनमा रुपान्तरण गरिएको छ ।

आश्रमको भवन अगाडि मानवेश्वर धाम बनाईएको छ । यसलाई निकट भविष्यमा नै जेष्ठ नागरिक तथा बालबालिका मनोमञ्जन उद्यानको रुपमा परिणत गरिने आश्रमको योजना छ । यसका अलवा उक्त पार्कमा नै मानवेश्वर कुण्ड पनि रहेको र सोही अनुसार संरचनाहरु निर्माण भइरहेकोले दिनभरीको थकान मेट्न र रिचार्ज हुन सहयोग पुग्नेगरी सध्याकालिन आरती समेत शुभारम्भ गर्ने आश्रमको योजना रहेको छ ।

कुनै समय दुर्वेसनमा रमाउनेहरुको लागि खुला क्षेत्र बनेको मानवसेवा आश्रमको लामसुरे धाप अहिले देशले नै गर्व गर्ने मानवीय मन्दिर निर्माण हुँदै गरेको देख्दा अत्यन्त खुशी लाग्ने बताउछन् स्थानीय होमनाथ मिश्र । सुन्दर भवन, सुव्यवस्थित परिसर र हराभरा वातावरण देखेर आश्रम पुग्नेहरु छक्क पर्ने गरेका छन् ।

यसरी मानवियताको मन्दिर निर्माण गरि मानवसेवा आश्रमले बेसहारा मानिसहरुको अवस्था अध्ययन तथा विवरण सङ्कलन, तिनको उद्धार, औषधोपचार तथा पालनपोषण, मनोचिकित्सकीय सेवा, जिविकोपार्जन सम्बन्धी तालिम, पारिवारिक पुनर्मिलन, परामर्श, अभिलेख तथा प्रतिवेदन साथै पुर्नस्थापना वा पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षण गर्दै आईरहेको छ ।

यससंगै आश्रमले कोही पनि घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्था सिर्जना गर्न निरन्तर असल, चरित्रवान् संस्कारित नागरिक निर्माणका लागि उत्प्रेरणात्मक, चेतनामूलक एवं परिणाममुखी रचनात्मक कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

मानवियताको राष्ट्र निर्माणसंगै मानवसेवा आश्रमले २०८२ सम्म नेपाललाई बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य समेत लिएको छ । २०६९ सालमा केही युवा मिलेर सडकमा बेवारिसे जीवन बिताइरहेका मानवको उद्धारका लागि ‘मानव सेवा आश्रम’ नामक सामाजिक संस्था स्थापना गरेका थिए। सरकारको नीतिमा रहेको सडक मानव मुक्त राष्ट्रिय अभियानमा मानव सेवा आश्रम एक विश्वासिलो सारथी नै भएको छ ।