शनिबार, असोज २६, २०८१

झल्लझली यादमै बित्छ परदेशीको दशैँ

शालीकराम भट्टराई, टोकियो, जापान ।
हिन्दुहरुको महान पर्व दशैको टिकाको दिन आज । आफुभन्दा ठुलाबडा र मान्यजनको हातबाट टिका र जमरा ग्रहण गरेर आशीर्वाद लिइ बिस्वभर छरिएर रहेका नेपालीहरुले मनाउदैछन।

जब दशै सुरुहुन्छ तब गाउँघरमा छुट्टै रौनकता, हर्ष र उल्लास छाउछ । गाउलेहरु जम्मा भएर गाउघरका बाटाघाटा, चोक चौराहा सरसफाइ गर्ने गर्दछन । घरका आगन र पिढी रातो माटोले लिपेर भित्ता रातो माटो संगै सेतो कमेरोले पोतेर चिटीक्क सजाउने प्रचलन गाउघरमा अझै बिद्दमान छ ।

जब दशै सुरुहुन्छ तब परदेश गएका परदेशीहरु पनी आफ्नो परिवार, आफन्त र इस्टमित्र संगै दशै मनाउनको लागी घर जाने गर्दछन । त्यस अर्थमा बिभिन्न बाध्यता र बिबशताले घर देखी टाढा रहेका आफन्त र प्रीयजनको मिलन हुने पर्ब पनि हो दशै । आफ्नो र परिवारको खुशी, उज्ज्वल भबिस्यको आशामा परदेशीएका परदेशिहरु पनी लामो तथा छोटो बिदामा दशै मनाउनका लागी घर फर्कने गर्दछन ।

कतिपय परदेशीहरु परिवार, आफन्त र प्रियजन संगै दशै मनाउने सपना मनभरि सजाएको भएपनि कामको ब्यस्तता, बिदा नपाउदा निकै भारी मन लिएर परदेशमै रहन बाध्य छन । आफु जन्मेको ठाउ अर्थात मातृभुमी प्राण भन्दा प्यारो हुन्छ पक्कै पनी त्यसै भनिएको होइन होला । जब देश छाडीन्छ नि तब देश, परिवार ,आफन्त र साथीभाइको माया र यादले निकै सताउने गर्दो रहेछ ।

त्यो याद, सम्झना र मायाले चाडबाडमा झनै सताउने गर्दछ । जब दशै सुरु भयो तब आफुले नेपालमा रहदा मनाएको दशै, बुवा, आमा, दाजुभाउजु, आफन्त र अग्रजको हातबाट लगाएको टिका, जमरा र आशिर्वादको झल्लझलि याद आउदो रहेछ ।

“परदेशिलाई न दशै न तिहार” सबै भन्दा ठुलो कुरा काम नै रहेछ परदेशमा । यहाको रङ्गीबिरङि दुनिया भन्दा आफ्नै गाउको अध्यारोमा जुनकिरिको उज्यालो र ज्याउकिरिको झ्याउ झ्याउ र झिउ झिउ प्यारो लाग्ने रहेछ ।
बाल्यकालमा दशैमा बुवा आमाले दिनुभएको ५ रुपैयाले दिनभरि लङुर बुर्जा खेलेर कुनै दशैमा साझपख घर फर्कदा हातभरि २५ र ५० पैसाका सिक्का कलिलो हातको मुट्ठीले थाम्नै नसक्ने गरि जितेर भरेको झल्लझलि याद आउछ । त्यस्तै कुनै दशैमा साझ घर फर्कदा सबै हारेर मलिनो अनुहार बनाएर घरको आटीको कुनामा गएर झोक्राएर बसेको याद नि दशै संगै ताजा बनेर आउदो रहेछ परदेशमा । दशैमा नया लुगा लगाउन पाइने, सेलरोटी र खशिको मासु खान पाइने भएकाले पनि बाल्यकालमा दशै बिशेष लाग्ने गर्द्थ्यो । गाउका चोक चोकमा र चौरमा हालीने रोटे पिङ र लिंगे पिङ खेलेको याद दशै संगै झलझलि आउदो रहेछ । जब उमेर बढदै गयो तब पढाइ संगै सन्चार क्षेत्रमा पनि लागेकाले बिभिन्न संघ सस्थाले आयोजना गर्ने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुदाको पल, “रेडीयोमा दशै बिशेष प्रत्यक्ष शुभकामना आदान प्रदान कार्यक्रम” सन्चालन गर्दाको पल….. दशै संगै सबै यो मानस्पटलमा ताजा बनेर झस्काउन आउने रहेछन ।

लोकप्रिय गायक बिष्णु खत्रीले गाएजस्तै “सुत्यो, उठयो डिउटीमा गयो परदेशीको दिनचर्या यहि भयो” यहि नै हो परदेशीको दिनचर्या न दशै न तिहार ।

परदेशमा जनतन डयुटी सकेर आफन्त,अग्रज साथीभाइ भेटेर निधारभरि रातो टिका र कानमा जमरा लगाएर ट्रेनमा, बाटाेमा हिडेमा सबैले टवाल्ल परेर हेरिरहन्छन । के थाहा परदेशमा नेपालीको महान चाड, सस्कृत र परम्मपरा…..?

हामी नेपालीको परदेशीनु रहर कदापी होइन, बाध्यता हो । आफ्नो देश, परिबेश र माटाेमा पसीना बगाउछु, परदेशमा गर्ने मेहनत आफ्नै देशमा गर्छु भनेर अगाडी बढेको र म जस्ता लाखौ नेपाली अहिले परदेशका गल्ली गल्लीमा आफ्नो र परिवारको सुन्दर भबिस्यको आशामा भौतारीन बाध्य छन । बुढा बाबा, आमा, श्रीमती, जती सुने पनी कहिल्यै नअघाइने छोराको तोते बोली, दाजुभाउजु, दिदिबहिनि, भान्जा भान्जी, साथीभाइ सबैको याद अरु समयमा भन्दा चाडबाडमा झनै बढी आउदो रहेछ । घरमा सबै जम्मा भएर रमाइलो गर्दै टिका जमरा लगाउदै छन होला…..? म र म जस्ता कयौ नेपाली युवा भने यो बिरानो परदेशी भुमिमा सदाको दिनझै डयुटीमा ब्यस्त छौ ।
डयुटीको बिचमा पाइने ब्रेक टाइम (क्युके) मा दशैको दिन मनमा उब्जिएका भावना र शब्दहरुलाइ जोडेर २/४ शब्द कोर्ने कोशीस कोरेको छु ।
दुर्गा भवानीले म र म जस्ता लाखौ युवालाई आफ्नै देशमा केहि गर्न सकिन्छ भनी आशा, भरोषा र सम्भावना प्रदान गरुन, देशको उथलपुथल राजनैतिक अवस्थाको अन्त्य होस । सन्सारका जुनसुकै कुनामा छरिएर रहनुहुने सम्पुर्ण नेपालीहरुमा बिजयादशमिको हार्दीक शुभकामना ।