शुक्रबार, फागुन ११, २०८०

जापानी राजदूत किकुता र पोखरा महानगरपालिकाका प्रमुख आचार्यबिच भेटवार्ता

पोखरा । नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा बुधवार छलफल भएको छ ।

छलफलका क्रममा प्रमुख आचार्यले राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको मित्रताको लागि महत्वपूर्ण पक्षका रुपमा लिएको बताउनुभयो । पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने प्रतिबद्धतामा आधारित छ, उहाँले भन्नुभयो, पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको बताउनुभयो । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताउनुभयो ।

“जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूप मै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ, उहाँले भन्नुभयो, जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको छ, यस प्रति पोखरा महानगरपालिका सदैव कृतज्ञ छ ।

पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकारलाई आग्रह गर्नुभयो ।

जाइका मार्फत जापान सरकारको सहयोगमा सञ्चालित पोखरा खानेपानी सुधार आयोजना अन्तरगत पोखरा १५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क खानेपानी ट्याङ्कीको समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गर्नुभयो ।

जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताउनुभयो ।
जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाउनुभयो ।

राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आउनुभएको हो । जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ ।