सोमबार, भदौ २४, २०८१

इजरायलबाट नेपालीहरुको उद्धार गर्न सकारसंग प्रवासी नेपाली मञ्चको माग

टोकियो । एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले इजरायल हमलाप्रति घोर निन्दा गरेको छ । कमिटीले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासले दक्षिणी इजरायलको अलुमिन किबुजमा गरेको आक्रमणको घोर निन्दा गरेको हो ।

आक्रमणमा प्यालेस्टिनी विद्रोही समूह हमासले दक्षिणी इजरायलको अलुमिन किबुजमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाएको दुःखद खबरले हामी स्तब्ध छौं र यस हमलाको घोर निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

दुई दिनदेखि बंकरमा रहेका ३७ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सार्न पहल गर्न पनि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले सरकारसँग माग गरेको छ । ‘हमला भएको स्थानमा अहिले ३७ जना नेपाली विद्यार्थीहरू विभिन्न बंकरहरूमा रहेको जानकारी प्राप्त भएको छ । विश्वका जुनसुकै कुनामा रहेका आफ्नो नागरिकको सुरक्षा एवम्‌ तत्काल उद्धार गर्ने प्रमुख दायित्व राज्यको हो,’ ’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ अतः इजरायलको बंकरबाट जीवन रक्षाको लागि याचना गरिरहेका नेपालीहरूको अविलम्ब उद्धारका लागि पहल गरिदिनुहुन नेपाल सरकार समक्ष प्रवासी नेपाली मञ्च हार्दिक अनुरोध गर्दछ ।’

बङ्करमा फसेका नेपालीहरूको खाना तथा आवासको व्यवस्थाका लागि प्रवासी नेपाली मञ्च, इजरायल तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।