शुक्रबार, असार ०१, २०८१

गाडीलाई सडक किनारामा राख्न लगाई प्रहरीले मेयर पत्नीलाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको बालेनको सचिवालयको जिकिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले सार्वजनिक बिदाका दिन सार्वजनिक गाडी प्रयोग गरिएको विषयमा स्पष्टीकरण दिएको छ । शनिबार बालेनले सिंहदरबार जलाउने धम्की दिएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । त्यसपछि आइतबार सचिवालयले विज्ञप्ति जारी गरी ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको बताएको छ ।

त्यस्तै सचिवालयले बालेनकी श्रीमती सविना काफ्ले सवार गाडीलाई केरकार गरेर ट्राफिक प्रहरीले अमर्यादित व्यवहार गरेको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’