बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेललाई जोडेर पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
शनिबार पार्टीको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीका नेताहरुलाई जोडेर जसरी षड्यन्त्र भइरहेको छ त्यो कदापि पूरा नहुने बताएका हुन् ।
उनले भने,‘प्रदेश अधिवेशनको बीचमा जसरी मलाई र उपाध्यक्ष विष्णु पौडेलको नाम जोडेर पार्टीलाई कमजोर बनाउन खोजिएको छ । उनीहरुको त्यो कुत्सित्त मानसिकता कदापि पूरा हुने छैन, प्रतिनिधिहरुको उनीहरुको षड्यन्त्रलाई मिथ्या सावित गर्नुहुने छ।’
महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनैतिक, बैचारिक र सांंगठानिक रुपले एकताबद्ध रहेको उल्लेख गर्दै त्यो एकताको सन्देश लुम्बिनी अधिवेशनले पनि पुष्टि गर्ने बताए। उनले जनजीवीकाका मुद्दालाई बलियो बनाउन, केपी ओलीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न एमालेलाई एकताबद्ध बनाउन जरुरी रहेको बताए।