बिहिबार, जेठ १७, २०८१

बौद्धमा आगामी भदौ १५ गते विशेष रोपाइँजात्रा मनाइने,१० विविध विधाहरुमा प्रतिस्पर्धा हुने

बौद्ध। विगतका वर्षहरुझै यसवर्ष पनि काठमाडौँको बौद्ध महाचैत्य परिसरमा घोनाई अर्थात रोपाइँजात्रा मनाइने भएको छ।

शुक्रबार बौद्ध तामाङ गुठीमा आयोजित पत्रकार सम्मेलन गर्दै आगामी भदौ १५ गते अर्थात गाइजात्राको भोलिपल्ट दश विधाहरुमा प्रतिस्पर्धात्मक रुपमा घोनाई अर्थात रोपाइँजात्रा मनाइने जात्रा आयोजक मूल समारोह समितिले जनाएको छ । काठमाडौं महा नगरपालिका वडा नम्बर ६ र वौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा विभिन्न संघसंस्थाको सहकार्यमा सञ्चालन हुने उक्त जात्रामा १० विविध विधाहरुमा प्रतिस्पर्धा गराइने छ।

काठमाडौ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामाले उक्त जात्राको लागि महानगरको सम्पदा शाखा मार्फत १५ लाख दिने निर्णय भएको बताए। यस्तै, बौद्धनाथ क्षेत्र बिकास समितिले पनि १० लाख आर्थिक सहयोग दिने अध्यक्ष राजकुमार लामाले जानकारी दिए ।

प्रतिस्पर्धामा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउनेछन्। सहभागी समूहलाई सान्त्वना पुरस्कारस्वरुप २५ सय रुपैयाँ प्रदान गरिनेछ।

परम्परागत रूपमा काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा पर्वको भोलिपल्ट मनाउने बौद्धको रोपाईजात्राको विशेष महत्व छ । मल्लकालमा समृद्ध राज्यहरुमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।

कार्यक्रम सम्पन्न गर्न गाईजात्रा मूल समारोह समितिको संयोजनमा २१ सदस्यीय गाईजात्रा तथा रोपाइजात्रा (घोनाई) मुल समारोह समिति गठन गरिएको छ ।

मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रामा धान रोप्नेदेखी लिएर रमाईलो गर्ने सम्मका कार्य गरिन्छ । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।

किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने, राजा, रानीको रुपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यसबेला राजा देखि प्रजासम्मले रोपाइँ जात्रामा सहभागी भई कृषकसँग खुसीका हातेमालो गर्दथे । विशेषतः तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरु समेत यस जात्रामा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले यो तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्त्वको जात्रा बनेको छ ।

यसले साँस्कृतिक एवम् जातीय एकतालाई मजबुत बनाउँदै लगेको पाइन्छ । धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना हो बौद्धको रापाइँ जात्रा । यसलाई संरक्षणमा अझ जोड दिन सके विश्व संम्पदा सूचीमा रहेको यस क्षेत्रको पर्यटन प्रवर्धन हुने देखिन्छ ।