सोमबार, भदौ २४, २०८१

ताम्सालिङ संयुक्त संघर्ष समितिको भदौ १० गते बृहत् घोषणासभा हुने

काठमाडौं । बागमती प्रदेश नाम खारेज गरी ताम्सालिङ प्रदेश निर्माणको लक्ष्यसहित ‘ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल’को घोषणासभा गरिने भएको छ ।
भदौ १० गते धुम्बाराहीस्थित एसआर बैंक्युटमा दिउँसो १ बजेदेखि बृहत् घोषणासभा हुने भएको हो ।

ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालका सदस्यसचिव एवं नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले ताम्सालिङ निर्माणका खातिर सो घोषणासभा गर्न लागेको बताए । साथै गाेलेले संघर्ष समिति घोषणापछि मिसन-२०८४ लाई चुम्न र आफ्नो इतिहास आफैले कोर्ने हिम्मत र साहसका साथ काममा खटिने अध्यक्ष तामाङले घोषणा गरेका छन् ।

यसअघि साउन ३१ गते बसेको बैठकले ताम्सालिङ संयुक्त संघर्ष समिति अवधारणापत्र र आचारसंहिता पारित गरेको थियो । ‘राज्यसत्ताद्वारा प्रवर्द्धन गरिएका सबैखाले जातीय विभेदको विरुद्ध लड्न समयले एउटा क्रान्ति मागिरहेको वर्तमान परिस्थितिमा घोषणाा सभाले एउटा नयाँ सन्देश दिने बताए ।

उनले विभिन्न विचार, सिद्धान्त बोकेर हिँडेका तामाङ नेतृत्व र अभियन्ताहरू आजदेखी ताम्सालिङ निर्माणको साझा मुद्दामा एकठाउँमा उभिन समेत आव्हान गरेका छन् ।