शनिबार, असोज १३, २०८०

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीमा रहेकाे शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययन अध्यापनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

केही हप्ताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्न समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । ‘जस्तापाता पूरै उडाएकाे छ, पालिकालाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन’, उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।’

कोरोनाका समयमा निर्माण शुरु गरिएको दुई कोठे भवन अहिलेसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।

‘न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ’, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, ‘भूइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।’ हावाले उडाएकाे जस्ता फेर्न पालिकाले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएकाले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा जोखिम बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षातका समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

‘खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?’ विद्यार्थी वर्षा ओडले भन्नुभयो, ‘विद्यालयको पर्खाल नहुँदा स-साना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।’

नजिकै राष्ट्रिय निकुञ्ज भएकाले वन्यजन्तु विद्यालय परिसरमा आउने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नुपर्ने प्रधानाध्यापक विष्टले बताउनुभयो । ‘विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ’, उहाँले भन्नुभयो, ‘खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।’