शुक्रबार, असोज ०५, २०८०

लगातार वर्षाका कारण देशभर बाढी पहिरोको जोखिम बढ्यो,मेलम्चीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।

आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले बताईन् । उनका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानबाट माथि सर्ने क्रममा रहेको छ ।

मनसुनको रेखा सरदर स्थानभन्दा माथि सरे पानी धेरै पर्ने उनले बताईन्। केही दिनयता लगातार जसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । पानी परेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।