शनिबार, असोज १३, २०८०

आज साउन १५, खीर दिवस मनाइँदै,यस्तो छ खीर खाने प्रचलनको इतिहास

काठमाडौं। आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । त

र यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

खीर खाने प्रचलनको इतिहासः

विश्वमा खीर खाने प्रचलन १४ औं शताव्दीवाट शुरु भएको पाइन्छ । खीर खाने प्रचलनको शुरुवात छिमेकी मुलुक चाईनावाट भएको अनुमान गरीन्छ । हाल खीर विश्वका प्रायजसो मुलुकहरुले विभिन्न नामवाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकार्मा क्रीवाथ) प्रयोग गर्ने गरेको पाईन्छ ।

खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा वढी मात्रामा खीरको प्रयोग हुने गरेको पाईन्छ । यूरोप र अमेरीकामा समेत खीर लाई एक विशिष्ट खानाको रुपमा प्रयोग गरेको पाईन्छ । बिशेषत भारतीय उपमहाद्वीपमा खीर वढी उपभोग गर्ने गरेको पाईन्छ ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखी नै गरी आएको पाईन्छ । विशेषत नेपाल कृषि प्रधान देश भएकोले धान रोपाई गर्ने कार्य आषाढ महिना सम्ममा सम्पन्न गरिन्छ । खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्ताजगी प्रदान गर्नको लागि श्रावणमा खीर खाई खाने गरिन्छ ।

श्रावण १५ गतेको दिन खीर खाने प्रचलन रही आएकोमा बोर्डको मिति २०७७ फागुन १५ गते बसेको कार्यकारी समितिको १११ औं वैठकले श्रावण १५ लाई खीर खाने दिनको रुपमा (खीर दिवस) मनाउने निर्णय गरेकोले थियो ।

पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग बृद्धि गर्न प्रचार प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जागृत गराउने, दूध तथा दुग्ध पदार्थको उपभोगमा सवैको पहुंच पु-याउन पहल गर्ने र दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु¥याउने जस्ता उद्देश्य लिएर खीर दिवस मनाउने प्रचलनले वर्षेनी निरन्तरता पाउन थालेको छ ।