शुक्रबार, असार ०१, २०८१

निजामती र प्रहरी ऐन केही दिनमा संसदमा पेश हुन्छः रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताएका छन् ।  नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले शनिबार काठमाडौंमा  आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताए । “विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम गर्न सरकारले काम गरिरहेको छ”, उनले भने ।

उपप्रधानमन्त्री खड्काले सरकारले केही दिनभित्र सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायतका महत्वपूर्ण ऐनलाई संसदमा प्रस्तुत गर्न लागेको जानकारी दिए । वर्तमान सरकारले सेवाग्राहीलाई कसरी सहज रुपमा सेवा प्रदान गर्न सकिन्छ भनेर लागेको उनको भनाइ थियो ।

उनले पार्टीको घोषणापत्र र गठबन्धनले निर्माण गरेको नीति तथा कार्यक्रमका आधारमा सरकारले काम गरिरहेको उल्लेख गरे । नेपालको अर्थतन्त्रलाई सुधार गर्न वर्तमान सरकार लागेको उनको भनाइ थियो ।

कांग्रेस उपसभापति खड्काले समयअनुसार पार्टीलाई परिवर्तन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताए । “युगअनुसार पार्टीलाई रुपान्तरण गर्न व्यक्ति स्वयं  रुपान्तरित हुनु जरुरी छ, अरु पार्टीलाई गाली गर्नुभन्दा आफ्नो पार्टी बलियो बनाउन सबै लाग्नुपर्छ”, उनले भने ।

उनले स्थानीय तह, प्रदेश, क्षेत्र र जिल्ला तहमा जनताबाट आएका सुझावलाई समावेश गरेर पार्टी केन्द्रीय समितिलाई राय तथा सुझाव दिन पार्टीका नेता एवं कार्यकर्तालाई आग्रह गरे । उपसभापति खड्काले पार्टीलाई थप चलायमान बनाउन कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई खटाउन लागेको बताए