बिहिबार, बैशाख ०६, २०८१

बैठक बिना निश्कर्ष टुंगिएपछि पोखराको मतगणना अनिश्चित

पोखरा,७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अनिश्चित बनेको छ । वडा नम्बर १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले बहिस्कार गरेपछि मतगणना स्थगित भएको थियो ।

मत गणना पुनः शुरु गर्ने प्रयासमा आइतबार सर्वदलीय – सर्वपक्षीय बैठक बोलाइएको थियो । तर, बैठक बिना निश्कर्ष टुंगिएपछि मतगणना अनिश्चित बनेको हो । छलफलमा एमालेले मत गणना तत्काल शुरु गर्न माग गरेको थियो । उसले विवादित वडाबाहेक अन्यमा मतगणना जारी राख्नुपर्ने बताएको थियो । विवादित वडामा भने स्थलगत अवलोकन गरेर सत्यतथ्य पत्ता लगाएपछि निर्णय गर्ने र बाँकी वडाहरुको तत्काल मतगणना गर्न आफूहरुले आग्रह गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

एमालेको प्रस्तावमा निर्वाचन कार्यालयले सहमति जनाउँदै अन्य दललाई सहयोगको लागि आग्रह गरेको थियो । तर, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी, नयाँशक्ति लगायतका दलहरुले फर्जी मतको बारेमा टुंगो लगाएपछि मात्रै मत गणना गर्नुपर्ने धारणा राखेका छन् ।

आफूहरुले फर्जी मतबारे जिल्ला निर्वाचन कार्यालयप्रति नै सन्देह व्यक्त गर्दै अब निर्वाचन आयोगले फर्जी भनिएको मतलाई कानूनी मान्यता दिने- नदिनेबारे अन्तिम फैषला गर्नुपर्ने धारणा राखेको नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए ।

सहमति नभएपछि निर्वाचन कार्यालयले त्रुटी देखिएको मत पत्रलाई मान्यता दिने-नदिनेबारे निर्णय दिन आग्रह गर्दै पत्र पठाउँदैछ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मत गणनाका क्रममा देशभर प्रयोग भएको भन्दा केही चाक्लो स्वस्तिक छाप भएको र दुई वटा हस्ताक्षर भएको मतपत्र भेटिएपछि विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

हालसम्म पोखरा लेखनाथ महानगरको ३८ प्रतिशत मात्र मतगणना सम्पन्न भएको छ । जसमध्ये वडा नम्बर १ देखी १५ सम्मको सबै गणना भइसकेको छ भने वडा नम्बर १६, १७, १८ र को गणना शुरु गरिएपनि सम्पन्न भएको छैन ।