शुक्रबार, असोज ०५, २०८०

सुन तस्करीमा कसको संलग्नता छ, गृहमन्त्रीले स्पष्ट पार्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा गृहमन्त्रीको संलग्नताकाबारेमा प्रश्न उठेको बताएका छन् ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले यसमा आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले भने,’गृहमन्त्रीले स्पष्ट पार्नुपर्यो यसमा संलग्नता कसको छ ? गैरजिम्मेवार तरिकाले जवाफ दिने होइन । यसमा गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने कि नहाल्ने ? गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो ।’

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैको ध्यान अन्त मोड्न विभिन्न किसिमको प्रपञ्च गरिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ  उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन। एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन। यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन।’अध्यक्ष ओलीले सानोतिनो संलग्नताबाट क्विन्टल सुन विमानस्थलबाट भित्रिन नसक्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले नछोड्ने चेतावनी दिए । उनले सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही गर्नुपर्ने बताए ।