शनिबार, असोज १३, २०८०

सुन काण्डको जरैसम्म गएर अनुसन्धान गरी कारवाही गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन छानबिन समितिलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामीले सबै नेक्सस केलाउँछौँ । अनुसन्धान त्यहाँसम्म पुग्छ, पुर्याउनुपर्छ । अपराध गर्नेहरूप्रति कुनै कसर बाँकी राखिन्न । अनुसन्धान गर्दाखेरी मलाई कुनै बालकोट, बालुवाटार, बूढानीलकण्ठ र पार्टी मतलब छैन ।’

सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए । भन्सार जाँचपासका सबै प्रक्रिया पूरा गरेर एक क्वीन्टल सुन भन्सारबाट निस्कनु सामान्य घटना नभएको भन्दै गृहमन्त्रीले जोसुकै भएपनि कारबाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको बताए ।

गृहमन्त्री श्रेष्ठले विमानस्थलको आवगमनमा प्रहरीको उपस्थिति नरहने भएकाले अब प्रहरी राख्ने विषयमा छलफल अघि बढाउने जानकारी दिए । उनले भ्रष्टाचार र अपराधका विषयमा कुनै दल र व्यक्ति नहेर्ने बताए ।

विमानस्थल भन्सारको जाँचपास गरी एक सय क्वीन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ गृह शुक्रबार मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरूलाई अनुगमनमा पुगेका थिए ।