शुक्रबार, साउन ०४, २०८१

उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल अध्यागमन र भन्सारको निरीक्षण

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास गरी एक सय किलो सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् ।

शुक्रबार गृहमन्त्री श्रेष्ठले विमानस्थल अध्यागमन र भन्सारको निरीक्षण गरेका हुन् । गृहमन्त्री श्रेष्ठसँगै नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका थिए । गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

यो प्रकरणमा अनुसन्धान गर्न सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब एक सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरिसकेको छ भने छानबिनका लागि समिति पनि गठन गरिएको छ ।