शनिबार, असोज १३, २०८०

नेपाली सेनालाई कमजोर बनाउने गरी संख्या कटौतीको बहस चलाउनु अनुचितः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली सेनाको संख्या कटौतीको बहस चलाउनु रहस्यमय र अनुचित भएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने उल्लेख गरेका छन् ।

उनले योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन ।’ उनले सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न आह्वान गरेका छन् ।