चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र समाजिक न्याय वर्तमान सरकारको एकसूत्रीय कार्यक्रम रहेको बताएका छन् ।
शनिबार प्रेस सेन्टरले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताएका छन् ।
तथ्य र प्रमाणका आधारमा दोषीलाई प्रकाउ गरी थप अनुसन्धान गर्ने तथा कोही पनि निर्दोष नफसून् भनेर सरकार गम्भीर रहेको उनले बताए । गृहमन्त्री श्रेष्ठले कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप नगर्ने जिकिर गरे ।
गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’
तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको भन्दै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।