सोमबार, असोज २१, २०८१

सत्ता स्वार्थका लागि देशको सार्वभौम सत्ता साट्न सकिँदैनः सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बास्कोटाले सत्ता स्वार्थका लागि देशको सार्वभौम सत्ता साट्न नसकिने बताउँदै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे ।

उनले भने, ‘राजनीतिमा एक माघले जाडो जाँदैन। एकले अर्कालाई वाच गरिरहेको हुन्छ। उहाँले राजीनामा दिनुपर्छ। उहाँले एक्सक्युज गर्नुपर्छ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिनूस। पद छोडिदिनुस्। सत्ता स्वार्थका निम्ति देशको सार्वभौम सत्ता साट्न सकिँदैन ।’

बास्कोटाले मिटरब्याजको विषयमा सत्ता पक्षले भ्रम छरेको आरोप लगाए । उनले भने, ‘यो संसद् ५७ दिनसम्म चलिसक्दा त्यो अध्यादेश अन्तिममा ल्याउनुपर्ने कारण के हो ? मिटरब्याजीको पक्षमा प्रमुख प्रतिपक्षी दल रह्यो भनेर वक्तव्य जारी गरियो । कहाँनिर एमालेले विरोध गर्यो सरकारले भन्नुपर्छ।’ उनले सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकारमाथि कू गरेको आरोप लगाए ।