शुक्रबार, चैत १६, २०८०

दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन : यादव

नेपालगञ्ज,२ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचन अगाडि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपालगञ्जमा भएको कार्यक्रममा अध्यक्ष यादवले सरकारले विगतको सम्झौतालाई ध्यानमा राख्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान संशोधनभन्दा पनि संविधान पुनर्लेखन हुनुपर्ने आफूहरुको माग भए पनि त्यसको सुरुवात संविधान संशोधनबाट सुरु हुन लागेको बताए । अध्यक्ष यादवले सरकारसँग भएका सम्झौता छिटो पूरा भए मात्रै आफूहरुको आन्दोलन रोकिने र आन्दोलनको स्वरुप बदलेर निर्वाचनमा होमिने बताए ।

सभामा फोरम नेपालका बरिष्ठ नेता अशोक राई, उपाध्यक्ष मोहम्मद लालबाबु राउत, पूर्वमन्त्री एव केन्द्रीय सदस्य इस्तियाक राई लगायत नेताले मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने बताएका थिए ।

संघीय समाजबादी फोरम नेपाल बाँकेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद सैयद मेराज अहमद साह, महासमिति सदस्य रिजवान अहमद साह, इस्तियाक अहमद साह लगायत व्यक्तिहरु पार्टी प्रवेश गरेका थिए ।